भू-उपयोग क्षेत्र परिवर्तनका लागि निवेदन दिने सम्बन्धी सूचना !

३० दिनभित्र सम्बन्धित वडा कार्यालयमा भू-उपयोग क्षेत्र परिवर्तनका लागि निवेदन पेश गर्नुहोस्।

पोखरा महानगरपालिका भू-उपयोग क्षेत्र परिवर्तन गर्न चाहने जग्गाधनीहरूलाई स्थानीय भू-उपयोग परिषद्मार्फत निवेदन दिन आह्वान गर्दछ । भू-उपयोग ऐन, २०७६ को दफा ८ को उपदफा २ (क) बमोजिम वर्गीकरण भइसकेका स्थानीय तहमा उचित आधार र कारणसहित निवेदन परेमा स्थानीय भू-उपयोग परिषद्ले एक पटकका लागि भू-उपयोग क्षेत्र परिवर्तन गर्न सक्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार पोखरा महानगरपालिकाभित्र भू-उपयोग क्षेत्र परिवर्तन गर्न चाहने, वर्गीकरणका कारण व्यावहारिक समस्या परेका वा जग्गाको भौगोलिक अवस्था, वास्तविक उपयोग तथा प्रकृतिका आधारमा क्षेत्र परिवर्तन आवश्यक भएका जग्गाधनीले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नुहुनेछ ।

निवेदनमा जग्गाधनीको नाम, थर, सम्पर्क नम्बर, वडा नम्बर, टोल/स्थान, कित्ता नम्बर, क्षेत्रफल, हाल कायम भू-उपयोग क्षेत्र र परिवर्तन गर्न चाहेको क्षेत्र, परिवर्तन गर्नुपर्ने स्पष्ट आधार तथा कारण र जग्गाको हालको वास्तविक उपयोग एवं भौगोलिक अवस्थासमेत खुलाउनुपर्नेछ । निवेदनसँग नागरिकता प्रमाणपत्र र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, नापी नक्सा (ट्रेस नक्सा), आधार तथा कारण पुष्टि गर्ने प्रमाण र अन्य सम्बन्धित कागजात संलग्न गर्नुपर्नेछ । निवेदन वडा कार्यालयमार्फत सिफारिससहित महानगरपालिकामा पेश गर्नुपर्नेछ ।

जग्गाधनीहरूले आफ्नो कित्ताको हालको भू-उपयोग वर्गीकरण अनलाइनमार्फत landuse.pokharamun.gov.np मा गई हेर्न सक्नुहुनेछ ।


थप जानकारीका लागि पोखरा महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयस्थित भूमि शाखा वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।


- पोखरा महानगरपालिका


सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 Request Notice ४ मंसिर, २०८३ JPEG